बागमती प्रदेशको वैदेशिक रोजगार सम्बन्धी विषयगत समितिसँग अन्तरक्रिया सम्पन्न

हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा वैदेशिक रोजगारी सम्बन्धी प्रदेश सभाको विषयगत समितिका पदाधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार हेटौंडामा बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा उक्त अन्तरक्रिया सम्पन्न भएको हो ।

श्रम तथा रोजगारी र मानसिक स्वास्थ्य क्षेत्रका नीतिगत व्यवस्था, प्रदेश सरकारको भूमिका तथा त्यसको कार्यान्वयनको अवस्थाको समीक्षा गरी सुधारका उपायहरू खोज्ने उदेश्यको साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागी वक्ताहरूले वैदेशिक रोजगारी र मानसिक स्वास्थ्य जस्ता संवेदनशील विषयहरूलाई प्रदेश सरकारको वार्षिक तथा आवधिक योजनामा प्राथमिकताका साथ समावेश गर्नुपर्नेमा जोड दिए। साथै, यी क्षेत्रलाई अझ व्यवस्थित गर्न भावी नीति, रणनीति तथा क्रियाकलापहरू निर्धारण गर्न आवश्यक रहेको सुझाव प्रस्तुत गरे।

अन्तरक्रियामा श्रम ऐन, २०७४ मा उल्लेखित प्रावधानहरू र प्रदेशको अधिकार क्षेत्रबीचको अस्पष्टता तथा व्यावहारिक कार्यान्वयनका विषयमा गम्भीर छलफल भयो। उपस्थित सहभागीहरूले संघीयता कार्यान्वयनको सन्दर्भमा श्रम क्षेत्रको अधिकार बाँडफाँड स्पष्ट पार्नुपर्ने र प्रदेश सरकारलाई आवश्यक कार्यक्षमता तथा स्रोतसाधन सुनिश्चित गरिनुपर्ने कुरामा जोड दिए।

कार्यक्रमको समापनमा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रदेश सरकार श्रमिकको हकहित र मानसिक स्वास्थ्य जस्ता विषयमा गम्भीर रहेको उल्लेख गर्दै यस किसिमका अन्तरक्रिया कार्यक्रमले नीतिनिर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । साथै हाल मन्त्रालयले श्रम र रोजगारीको क्षेत्रमा काम गरिरहेको र आगामी अर्थिक वर्षमा निरन्तरता दिदै जाने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री  महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश मामिला समितिका सभापति छिरिङ् दोर्जे लामाको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी श्रम, रोजगार मन्त्रालयका सचिव विरेन्द्रदेव भारती, विज्ञ सल्लाहकार तुलसी रिजाल, वैदेशिक रोजगार बोर्डका पूर्व कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ, नीति तथा योजना आयोगका सदस्य डा.  दीपेन्द्र श्रेष्ठ, प्रदेश मामिला समितिको सचिव प्रतिज्ञा देबकोटा, सुरक्षीत आप्रवसन (सामी) का प्रदेश कार्यक्रम संयोजक पुरुषोत्तम अधिकारी लगायत प्रदेश सभाका विषयगत समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.