१५ महिनासम्म पनि भुक्तानी नपाएको नेपाली कम्पनीको गुनासो, चिनियाँ ठेकेदारमाथि कारबाहीको माग

हेटौँडा । काठमाडौँ–तराई–मधेस फास्ट ट्रयाक निर्माणमा संलग्न चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन (CSCEC) ले सम्झौताअनुसारको काम सम्पन्न भएको १५ महिना बितिसक्दा पनि भुक्तानी नगरेको भन्दै नेपाली ठेकेदार कम्पनीहरूले गम्भीर गुनासो गरेका छन्।

शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेपाल मेशिनरी एक्जिम कम्पनीका प्रवन्ध निर्देशक मुकेश शरावगीले CSCEC सँगको सम्झौताअनुसार काम सकिएपछि एक महिनाभित्र भुक्तानी हुनुपर्ने भए पनि १५ महिनासम्म ७ करोड रुपैयाँभन्दा बढी भुक्तानी नपाएको जानकारी दिए।

तीन नेपाली कम्पनीको ७ करोड बढी रकम असुल हुन बाँकी
फलामजन्य सामग्री आपूर्ति गरेका तीन नेपाली कम्पनीहरू — नेपाल मेशिनरी एक्जिम, नेपाल फास्ट ट्रयाक इन्फ्रा कन्सर्न, र नेपाल मेशिनरी इन्टरप्राइजेज प्रा.लि — ले हालसम्म भुक्तानी पाउन सकेका छैनन्। बाँकी रहेको रकम यसप्रकार छ:

नेपाल मेशिनरी एक्जिम: रु ५१ लाख १९ हजार ७२८

नेपाल फास्ट ट्रयाक इन्फ्रा कन्सर्न: रु २ करोड ४६ लाख २७ हजार ८२१

नेपाल मेशिनरी इन्टरप्राइजेज: रु ३ करोड ४१ लाख ३७ हजार ३९९

कुल भुक्तानी: रु ७ करोड ३८ लाख ८४ हजार ९४८

“बेवास्ता गर्दै आएको छ, कारबाही होस्” — शरावगी
शरावगीका अनुसार पटक–पटक पत्राचार गर्दा पनि चिनियाँ कम्पनीले बेवास्ता गर्दै आएको छ। “यो रकम नपाउँदा हाम्रो व्यवसाय धरापमा परेको छ, बैंकको किस्ता तिर्न नसक्ने स्थिति छ,” उनले भने। उनका अनुसार यस अवधिमा CSCEC सँग ५० करोडभन्दा बढीको कारोबार भइसकेको हो।

सरकारसँग कारबाहीको माग
शरावगीले भुक्तानी नदिने यस्ता विदेशी कम्पनीलाई नेपाल सरकारले कालोसूचीमा राख्नुपर्ने माग गरेका छन्। “सम्झौता अनुसारको काम सकिएपछि पनि भुक्तानी नदिने कम्पनीलाई अब नेपालमा कुनै पनि सरकारी परियोजनामा ठेक्का दिनुहुन्न,” उनले स्पष्ट रूपमा चेतावनी दिए।

कानुनी बाटो वा आन्दोलनको तयारी
“हामी मात्र होइन, यस्तै समस्या भोगिरहेका अन्य नेपाली कम्पनीहरू पनि छन्। अब अन्तिम विकल्प भनेको कानुनी प्रक्रिया वा आन्दोलन नै हो,” शरावगीले भने।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.