चौकीटोल घटनाः प्रहरीले करिब १८ घण्टापछि शव उठायो

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १, चौकीटोलमा देवरले भाउजुको हत्या गरेको करिब १८ घण्टापछि बिहीबार बिहान प्रहरीले शव उठाएको छ । प्रहरीका अनुसार त्यहाँस्थित २२ वर्षीय राहुल दासले बुधबार दिउँसो साढे ३ देखि ४ बजेको बीचमा आफ्नी जेठी भाउजु ३५ वर्षीय गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

घटना घटेको समयदेखि विविध कारणले प्रहरीले बिहीबार बिहान मात्रै मृतकको शव उठाएको हो । प्रहरीका अनुसार आरोपित राहुलले उनका माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घाइते रुपेशको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार तीन दाजुभाइ मध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा ५ महिनाअघि कतार गएका थिए । मृतक गुडिया ३ सन्तानकी आमा हुन् । गुडियालाई राहुलले खुकुरी प्रहार गरी घरमै हत्या गरेको प्रहरीको भनाई छ ।

घाईते रुपेश हेटौँडामा तरकारी तथा फलफूलको थोक बजारमा बुबासँगै फलफूलको व्यवसाय गर्दै आएका थिए । प्रहरीका अनुसार राहुलले भाउजुको हत्या गरेको, दाइमाथि पनि सांघातिक आक्रमण गरेको स्वीकार गरिसकेका छन् । तर हत्या र आक्रमणको कारण भने प्रहरीले खुलाएको छैन ।

तर छिमेकीहरुका अनुसार राहुल लागुऔँषध सेवनकर्ता हुन् । उनले लागुऔषध सेवनका लागि भाउजुसँग पैसा माग्ने गरेका थिए । भाउजुले पैसा नदिने र कडाई गर्दा उनले आक्रोशमा खुकुरी प्रहार गरेको हुनसक्ने छिमेकीहरु बताउँछन् ।

‘राहुलले आफू दाईबाट पनि सुरक्षित नभएको महसुस गरी मार्ने कोसिस गरेको प्रहरी श्रोतले उल्लेख गरेको छ । उनको पाखुरामा गम्भीर चोट लागेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.