मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले माघ २४ गतेदेखि फोहोर संकलन कार्य रोकेपछि अहिले बजार क्षेत्रमा फोहोरको थुप्रो देखिएको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासले माघ २२ गते राप्ती नदी किनारमा रहेको डम्पिङ साइटमा फोहोर नफाल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि फोहोर संकलन स्थगित भएको हो।
वैकल्पिक डम्पिङ साइटको व्यवस्था नभएकाले नगर क्षेत्रमा फोहोर थुप्रिँदै गएको छ, जसले वातावरणीय प्रदूषण र स्वास्थ्य समस्याको जोखिम बढाएको छ। स्थानीयहरू दुर्गन्ध, सङ्क्रमण र सरसफाइको अभावबाट प्रभावित भएका छन्। पसलबाट तथा व्यापारीहरुले प्लाष्टिकहरु एकठाउँमा नराखी सडक छेउमै छोड्ने बानीले पनि थप समस्या निम्ताएको छ ।
अदालतले माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ, जसपछि फोहोर व्यवस्थापनको वैकल्पिक उपायबारे निर्णय हुने अपेक्षा गरिएको छ। तर समयमै दिर्घकालिन समाधान खोज्न नसके यसले अझै स्वास्थ्य समस्या बढाउने र फोहोरका कारण डेंगुको प्रकोप पनि बढ्न सक्ने देखिएको छ ।