मकवानपुर । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा बलमैत्री वडा घोषणा भएको छ । आज बालमैत्री घोषणा समारोहमा कार्यक्रमकी प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले वडालार्इ बालमैत्री घोषणा गरेकी हुन् ।
१२ नम्बर वडाका वडाध्यक्ष अर्जुन तिवारीको सभाध्यक्षतामा भएको बालमैत्री घोषणा कार्यक्रममा नगर प्रमुख लामाको प्रमुख आतिथ्यता रहेको थियोे । वडाले ५१ वटा सुचक पार गरेकोले बालमैत्री वडा घोषणा गरिएको बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गानाले जानकारी दिइन् ।
१२ नम्बर वडाको कूल क्षेत्रफल १६.१४ वर्ग किलोमिटर रहेको छ। यस वडाको पूर्वमा वडा नम्बर ९ पश्चिममा मनहरी गाउँपालिका, उत्तरमा राप्ती खोला (वडा नम्बर ३,११ र १९), दक्षिणमा वडा नम्बर १३ रहेको छ। घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार कुल २२३६ घरधुरी रहेको यस वडामा १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ३०७८ रहेको छ जसमा १५७८ बालक र १५०० बालिका रहेका छन्।
वडामा सामुदायिक र संस्थागत गरि बाल विकास केन्द्र सहितका जम्मा ५ वटा विद्यालयहरु सञ्चालनमा छन्। यसै गरी २२ वटा बालसमूहहरु र १ वडास्तरीय बाल समूह सञ्जाल रहेको छ जसमा ५५० जना बालबालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ५८९ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ ।