हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले संविधान दिवसकाे शुभकामना व्यक्त गर्नु भएकाे छ । जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको आज १० बर्ष पूरा भएको छ ।
यसै अवसरमा उहाँले शुभकामना सन्देश मार्फत भन्नु भएकाे छ ‘यो सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक बधाई, साथै शुभकामना व्यक्त गर्दछु ।’
‘संविधान देशको मुल कानून हो । यो सुनौलो बिहानी ल्याउन योगदान गर्नुहुने इतिहासको विभिन्न कालखण्डका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु’ प्रदेश प्रमुखले सन्देशमा भन्नु भएकाे छ । नेपाली जनताको संघर्ष र बलिदानबाट वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस / राष्ट्रिय दिवस मनाइरहेका छौँ उहाँले शुभकामनामा भन्नु भएकाे छ । देशको वर्तमान परिस्थिती उल्लाषपूर्ण नभएकाे बताउँदै उहाँले जेनजी आन्दोलनबाट भएका सबैप्रकारका क्षतिलाई परिपुरण गर्नेगरी आगामी कदम चाल्नुपर्ने बताउनु भएकाे छ ।
उहाँले शुभकामना सन्देशमा भन्नु भएकाे छ ‘केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको संविधान जारी भएको आजको दिनलाई उत्सवको रुपमा मनाउँदै अघि बढ्नु पर्नेछ ।’
यो १० वर्षको अन्तरालमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन भएका छन्’ उहाँले भन्नु भएकाेछ ‘संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यता समेटिएका छन् । संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान छ ।’
सकारात्मक कामको पहलमा सबैको ऐक्यवद्धता आवश्यक रहन्छ । त्यसैले पनि संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि सरोकारवाला सबैले आ-आफ्नो स्थानबाट पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा हार्दिक अनुरोध समेत गर्दछु उहाँले भन्नु भएकाे छ ।
प्रदेश प्रमुखले सन्देशमा भन्नु भएकाे छ ‘संविधान कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मुल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवस / राष्ट्रिय दिवस, २०८२ ले हामी सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्दछु ।’




































































