सिन्धुपाल्चोकका पत्रकारमाथि धम्की र लाञ्छनाप्रति महासंघको गम्भीर आपत्ति

फोटो फाईल

हेटौँडा — सिन्धुपाल्चोक जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारमाध्यमलाई लक्षित गरी पछिल्लो समय भिडियो सामग्रीमार्फत सार्वजनिक रूपमा अभद्र टिप्पणी, लाञ्छना र धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सार्वजनिक सरोकारका विषयमा समाचार प्रकाशन तथा प्रसारण भएपछि पत्रकार र सञ्चारमाध्यमलाई दोषारोपण गर्दै डर, त्रास र दबाब सिर्जना गर्ने प्रयास प्रेस स्वतन्त्रताका लागि गम्भीर चुनौती भएको महासंघको ठहर छ। असहमति व्यक्त गर्ने अधिकार सबैलाई भए पनि पत्रकारलाई धम्की दिने, बदनाम गर्ने तथा पेशागत कार्यमा अवरोध पु¥याउने कुनै पनि कार्य लोकतान्त्रिक प्रणालीसँग मेल नखाने महासंघले स्पष्ट पारेको छ।

महासंघका अनुसार पछिल्लो समय सार्वजनिक निकायमा हुने दुर्व्यवहार, हिंसा र अनियमिततासम्बन्धी समाचार सामग्री प्रकाशित भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै सिन्धुपाल्चोकका पत्रकार तथा सञ्चारमाध्यममाथि विभिन्न लाञ्छना लगाउँदै भिडियो सामग्रीमार्फत कारबाहीको धम्की दिइएको छ। उक्त विषयमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले जानकारी गराएको जनाइएको छ।

समाचार सामग्रीप्रति असन्तुष्टि भए प्रचलित कानुनी संयन्त्रमार्फत गुनासो राख्न सकिने स्पष्ट व्यवस्था हुँदाहुँदै ती विधि प्रयोग नगरी धम्की र दबाबको बाटो अपनाउनु निन्दनीय कार्य भएको महासंघले जनाएको छ। यस्ता गतिविधिले पत्रकारको पेशागत स्वतन्त्रता मात्र नभई आमनागरिकको सूचनाको हकसमेत प्रभावित हुने महासंघको ठहर छ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले सिन्धुपाल्चोक जिल्लामा घटेको उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाही गर्न, पत्रकार तथा सञ्चारमाध्यमको सुरक्षाको सुनिश्चितता गर्न तथा संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

साथै महासंघले पत्रकार आचारसंहिताको सम्मान गर्दै जिम्मेवार, तथ्यमा आधारित र सन्तुलित पत्रकारिता गर्न सबै सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ। स्वतन्त्र, सुरक्षित र मर्यादित पत्रकारिताको वातावरण निर्माणका लागि महासंघ सदैव पत्रकारहरूको पक्षमा दृढताका साथ उभिने प्रतिबद्धता अध्यक्ष कृष्ण सारु मगरले व्यक्त गरेका छन्।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.