मकवानपुर । नेपाली कांग्रेस बकैया गाउँपालिका समितिले आगलागीबाट पीडित बकैया–५ श्रीपुरका एक परिवारलाई आर्थिक सहयोग गरेको छ। गत भदौ २० गते घरमा लागेको आगलागीका कारण असोज १ गते निधन भएका ४५ वर्षीय लिलाराम जिम्बाको परिवारलाई मंगलबार भेटघाट गरी सहयोग हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रम नेपाली कांग्रेस बकैयाका सभापति दिलबहादुर बोम्जनको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टी जिल्ला उपसभापति तथा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान अध्यक्ष दामोदर खनाल र बकैया–५ की वडा अध्यक्ष लक्ष्मी जिम्बाको पनि उपस्थिती रहेको थियो।
पार्टी बकैया समितिका प्रवक्ता विजय लामा थिङका अनुसार मृतकका बुबा देव जीत जिम्बालाई कुल दुई लाख नौ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो। उक्त रकममध्ये एक लाख रुपैयाँ बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुरले र एक लाख नौ हजार रुपैयाँ कांग्रेस बकैया समितिको तर्फबाट प्रदान गरिएको उनले जानकारी दिए।
स्थानीय नेताहरूले पीडित परिवारलाई धैर्य राख्न आग्रह गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगका लागि पार्टी प्रतिबद्ध रहने बताएका छन्।



































































