हेटौंडा । रेडियो थाहा संचार हेटौंडाले हरेक वर्ष जस्तै यसपाली पनि नेपाली नारीहरुको पर्व हरि तालिका तीजको अवसरमा थाहा नारी रत्न सम्मान तथा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । हेटौंडामा शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम रेडियोका प्रवन्धक निर्देशक अरुणराज सुमार्गीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा स्वागत मन्तब्य राख्दै रेडियो थाहा संचारका स्टेशन मेनेजर गोकुल अधिकारीले सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रमको आयोजना गरिएको बताए ।
सो क्रममा बोल्दै नगर प्रमुख लामाले रेडियो थाहा संचारले गरेको कार्य निकै प्रशंसनीय रहेको बताईन् । यस्तै, कार्यक्रममा गैर सरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सोही अवसरमा मकवानपुरगढीकी सामाजिक व्यक्तित्व सुलोचना स्याङ्तानलाई यस वर्षको थाहा नारी रत्नबाट सम्मान २०८२ बाट सम्मान गरिएको छ ।
औपचारिक कार्यक्रमको समापन गर्दै रेडियोका प्रवन्ध निर्देशक सुगार्मीले रेडियोले हरेक समयमा यस्ता कार्यक्रम गर्दै आइरहेको र यसपाली पनि गरेकोमा खुसी लागेको बताउँदै नेपाली समाज विभिन्न धर्म, संस्कृतिले बनाएकाले सबैको संरक्षण र रक्षा गर्न रेडियो सदैव कृयाशिल रहेको बताए ।
कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरुको सहभागीता रहेको थियो । सो क्रममा गायिका पबित्रा यात्रीले आफ्नो साङ्गितिक प्रस्तुति दिएका थिए भने हेटौंडा एकेडेमीबाट आएका बालिकाहरुले नृत्य देखाएकामा थिए । साथै पन्चेबाजाको टोलिले पनि प्रस्तुति दिएको थियो ।



































































