दक्षिण कोरिया । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने बताएका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले एनआरएनए कोरियालाई नेपाली समुदायको साझा संस्था बनाई नेपाल र नेपालीको हितमा केन्द्रित गर्नूपर्नेमा जोड दिए ।
“गैरआवासीय नेपालीबीच देखिएको मतभेद समाधान गरी संस्थालाई अझ जिम्मेवार र जनमुखी बनाउनु आजको आवश्यकता हो,” उनले भने, “एनआरएनए सशक्त, समावेशी र परिणाममुखी बन्न सके मात्र विश्वभर छरिएका नेपालीको हित सुनिश्चित गर्न सक्छ।”

उनले विदेशमा आर्जित सीप, ज्ञान र अनुभवलाई संस्थागत रुपमा नेपालमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। “यहाँ सिकिएको प्रविधि, दक्षता र अनुशासन नेपालमा लगियो भने त्यो समृद्धिको भरपर्दो आधार बन्न सक्छ,” मन्त्री काफ्लेले भने ।
विदेशको भूमिमा रहेर पनि मातृभूमिको समृद्धिको सपना देख्ने सबैलाई धन्यवाद दिँदै उनले भने, “कोरियामा आर्जित पूँजी र सीपलाई अब उत्पादनमुखी क्षेत्रमा लगानी गरौं, सरकार सहकार्य गर्न तयार छ।”
उनले बागमती प्रदेश सरकार गैरआवासीय नेपालीहरूसँग आवश्यक समन्वय गर्न तयार रहेको भन्दै योजनाबद्ध रूपमा नेपालमा लगानी गर्न आग्रह गरे । साथै, कोरियामा रहेका समस्याग्रस्त नेपालीहरूको पहिचान गरी समाधानका लागि पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।
एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका विभिन्न पदाधिकारीहरूले एनआरएनएको बृहत्तर हितमा विचार प्रस्तुत गरेका थिए । संघको नयाँ नेतृत्व चयनका लागि भोलि (आइतबार) निर्वाचन हुने कार्यक्रम छ।































