मकवानपुर जिल्लास्तरीय शिक्षक नायक गोष्ठी सम्पन्न, रेडक्रस अभियान सशक्त बनाउने निर्णय

हेटौंडा । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय शिक्षक नायक गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ। चन्द्रोदय माध्यमिक विद्यालय, हेटौंडाको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाभरिका ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक नायकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गोष्ठीमा रेडक्रसलाई शैक्षिक संस्थामा अभियानको रूपमा अघि बढाउने विषयमा केन्द्रित छलफल भएको थियो। कार्यक्रममा जुनियर/युवा रेडक्रस सर्कलको गठन तथा पुनर्गठन गर्ने, रेडक्रस परिचयात्मक गोष्ठी सञ्चालन गर्ने, पालिका स्तरमा प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी तालिमहरू सञ्चालन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरिएका छन्।

रेडक्रस मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर युवा समिति संयोजक शिवहरि दाहालले आगामी भदौ १३ र १४ गते अरनिको मावि, हेटौंडा–१९ नेवारपानीको आतिथ्यतामा आयोजना हुने जिल्ला जुनियर/युवा रेडक्रस गोष्ठीमा जिल्लाका सबै शैक्षिक संस्थाहरूको सक्रिय सहभागिता रहने जानकारी दिनुभयो। उहाँका अनुसार सो गोष्ठीमा ६ वटा विषयमा गहन छलफल गरी कार्यान्वयन योजना तय गरिनेछ।

गोष्ठीमा अन्तर्राष्ट्रिय रेडक्रस अभियानका सन्दर्भमा सुमित्रा काफ्ले, नेपाल रेडक्रस अभियानबारे पिताम्बर बास्तोला, शिक्षक नायकको भूमिका र कर्तव्यबारे शिवहरि दाहाल तथा जुनियर/युवा अभियान सम्बन्धमा लक्ष्मण भट्टराईले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेरेसो मकवानपुरका मन्त्री सुमित्रा काफ्ले, विद्यालय व्यवस्थापन समिति (बिब्यस)का पूर्व अध्यक्ष हरि वाग्ले, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, जिएस निकेतनका अध्यक्ष ऋषिराम पोखरेल, नेरेसो बस्तिपुर उपशाखाका सभापति राजु घले, चन्द्रोदय माविका प्रधानाध्यापक जिधराज ढकाल, बिब्यस सदस्य रामप्रसाद देवकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रममा नेरेसो मकवानपुरका कोषाध्यक्ष किशोर बर्तौला, उपकोषाध्यक्ष मंगल राखाल, सदस्यहरू रामजी सापकोटा, ईश्वर पण्डित, कृष्णबहादुर सापकोटा, गोकर्ण सुवेदी, नारायण तिमल्सिना, पिताम्बर बास्तोला, वडा नं. ८ की सदस्य रिता मङराती, बिब्यसका पूर्व अध्यक्ष कुलप्रसाद पौडेल, नेरेसो मकवानपुरका कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखा प्रमुख रामजी खतिवडा, शिक्षक नायक धनराज फुयाल लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.