बागमती प्रदेशका १० जिल्लामा १२० सिसिटिभी क्यामरा, शान्ति सुरक्षामा सुधारको अपेक्षा

हेटौँडा । बागमती प्रदेशका १० जिल्लामा सिसिटिभी क्यामरा जडान गरी सञ्चालनमा ल्याइएको छ। मंगलबार बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सिसिटिभी जडान तथा सञ्चालन कार्यक्रमको उद्घाटन गर्नुभयो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सार्वजनिक सुरक्षालाई सुदृढ बनाउँदै निगरानी र अपराध रोकथामलाई प्रभावकारी बनाउन प्रदेशभरका ६४ स्थानमा १ सय २० वटा क्यामरा जडान गरिएको हो।

उद्घाटन समारोहमा मन्त्री लामिछानेले क्यामरा जडानले प्रदेशको शान्ति सुरक्षालाई व्यवस्थित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रहरी कार्यालयका नयाँ भवन निर्माण, संरचना सुधार र थप क्यामरा जडानका लागि आगामी वर्षका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी पनि दिनुभयो। साथै, प्रदेश सरकार स्थापना भएको ७ वर्ष बितिसक्दा पनि प्रहरी समायोजनको विषय अझै पेचिलो रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण पौडेलले प्रविधिको तीव्र विकासले सुरक्षा चुनौती बढेको बताउनुभयो। सीमित जनशक्ति भएर पनि प्रहरी संगठनले काम गरिरहेको उल्लेख गर्दै उहाँले थप जनशक्ति आवश्यक रहेको बताउनुभयो। साथै, प्रदेशमा अझै २ सय ५० वटा क्यामराको खाँचो रहेको र आगामी वर्ष थप १ सय क्यामरा जडान गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।

जडान गरिएका क्यामराको निगरानी प्रदेशका ३८ वटा प्रहरी युनिटबाट नियमित रूपमा गरिनेछ। साथै, अन्तरप्रादेशिक सीमा र राष्ट्रिय राजमार्गका संवेदनशील क्षेत्र चितवन, सिन्धुली र मकवानपुरमा अत्याधुनिक एएनपीआर क्यामरा र रडार प्रणाली समेत जडान गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) संजय थापाले बताउनुभयो। उहाँका अनुसार यी क्यामरामा कम्तीमा ९० दिनको डाटा भण्डारण क्षमता र विद्युत अवरोध हुँदा पनि सञ्चालन हुने पावर ब्याकअपको व्यवस्था गरिएको छ।

क्यामरा जडानको लागि मन्त्रालयबाट २ करोड ९७ लाख रुपैयाँ स्वीकृति लिइ नेक्स्ट जेन् आईटी सोलुसन प्रा.लि.सँग २ करोड ८४ लाखमा जेठ १० गते सम्झौता गरिएको हो। क्यामरामा २ वर्षको वारेन्टी र सम्भावित जोखिम व्यवस्थापनको लागि बिमा समेत गरिएको छ।

कार्यक्रममा मध्य पृतना हेडक्वाटर सुपारीटारका उपरथी हरेन्द्र पाठक, मन्त्रालयका सचिव कृष्णबहादुर शाही, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.