हेटौंडामा सञ्चारकर्मीहरूका लागि जलवायु परिवर्तनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

हेटौंडा । जलवायु परिवर्तन र यसको असरबारे बागमती प्रदेशका सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्न लक्षित कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको छ। बागमती प्रदेश सरकार अन्तर्गतको वन तथा वातावरण मन्त्रालयको आयोजनामा कार्यक्रम गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिल्वालले जलवायु परिवर्तनका कारण पृथ्वीको सतहको तापक्रम बढ्दै गएको र यसले वातावरणदेखि कृषि, जलस्रोत, मानव स्वास्थ्यसम्म गम्भीर असर पुर्‍याइरहेको बताए। उनले भने, “जुन गर्मी हिजो असहज लाग्दैनथ्यो, आज साह्रै गाह्रो भइरहेको छ। मौसमले आफ्नो ताल छाड्न थालेको छ—वर्षा बेलामा नहुने, नहुने बेलामा झन् डुबाउने। कहिले सुख्खा, कहिले बाढी। यो सबै जलवायु परिवर्तनका लक्षण हुन्।”

मन्त्री सिल्वालले समस्याको समाधानको उपाय पनि रहेको उल्लेख गर्दै वन संरक्षण, हरियाली विस्तार, बिजुली सवारी प्रयोग र कम इन्धन जलाउने बानी बसाल्नुका साथै जैविक खेतीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले नेपालले जलवायु परिवर्तन न्यूनीकरणका लागि लिएका नीति तथा कदमबारे जानकारी दिँदै बागमती प्रदेशले गाउँगाउँसम्म जलवायु सचेतना फैलाउने कार्यलाई तीव्र पारेको बताए।

त्यस्तै, मन्त्रालयकी वन अधिकृत राधिका शर्माले नेपालमा जलवायु परिवर्तनका प्रभावहरू र बागमती प्रदेशमा जलवायुजन्य प्रकोपका जोखिम र चुनौतीबारे प्रस्तुतिकरण गरिन्। मन्त्रालयका महासाखा प्रमुख शिव सापकोटाले कार्बन वित्त र यसको सम्भावनाबारे चर्चा गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर र जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले सञ्चारकर्मीहरूले जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका थिए।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.