‘सकारात्मक समाज निर्माणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण’ – नगर प्रमुख लामा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले सकारात्मक समाज निर्माणमा सञ्चारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनु भएको छ।

शनिबार नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित ‘सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चुनौती र अवसर’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै नगर प्रमुख लामाले पछिल्लो समयमा समाजमा मानवता हराउँदै गएको उल्लेख गर्नुभयो।

उहाँले सञ्चारकर्मीहरुले नेताहरुको भिजनलाई तल्लो तहसम्म पुर्‍याउने, समाजलाई सुसूचित गर्ने र नेतृत्वलाई जवाफदेही बनाउने कार्यमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो। “हिनता, त्रास र डरमा भएको नेतृत्वले समाजको विकास गर्न सक्दैन,” नगर प्रमुख लामाले भन्नुभयो, “देश र समाजप्रति दृष्टिकोण नकारात्मक हुँदा संविधान र व्यवस्था नै असफल हुन सक्छ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सुरक्षित पत्रकारिता वातावरण निर्माणका लागि राज्यमाथि दबाब आवश्यक रहेको बताउँदै श्रमजीवी पत्रकार ऐन अझै कार्यान्वयन नभएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। उहाँले प्रविधिको तीव्र विकासले पत्रकारितामा चुनौती थपिएको बताउँदै पत्रकार आचारसंहिता र मूल्य–मान्यताको पालना आवश्यक रहेकोमा जोड दिनुभयो।

त्यस्तै, महासचिव दाहालले तीनै तहका सरकारले कानुनी रूपमा प्रेसलाई नियन्त्रण गर्न खोजेको आभास दिन थालेको उल्लेख गर्नुभयो।

कार्यक्रममा बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले परम्परागत ढाँचामा सञ्चालित सञ्चारमाध्यम प्रविधिको तीव्र विकाससँग जुध्न संघर्षरत रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यशालामा सञ्चार रजिष्ट्रार रेवती सापकोटाले ‘रचनात्मक पत्रकारिता, एआईले निम्त्याउने चुनौती र अवसर’ विषयमा प्रस्तुति दिनुभयो भने महासचिव दाहालले ‘पत्रकार आचारसंहिता र विपद् पत्रकारिता’ सम्बन्धी प्रशिक्षण दिनुभयो।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, महासंघ बागमतीका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं, सल्लाहकार अञ्जली थापा, पूर्व अध्यक्षहरू, विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.