हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले दिएको सिमेन्टको कुर्सीहरुको दुरुपयोग भएको छ । सर्वसाधारण तथा यात्रुहरुई बसेर गाडी कुर्न, विद्यार्थीहरुलाई विद्यालय बस कुर्न, साथी–साथी भेटेर मनको कुरा बिसाउन (गफ्फिन) तथा वुद्धवृद्धाहरुलाई एकैछिन सुस्ताउन सजिलो होस् भन्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले प्रत्येक वडालाइ १ सय देखि १ सय ५० वटा सिमेन्टको कुर्सी बितरण गरेको छ । ती कुर्सीहरु कतै निर्माणको नाममा दुई–तीन टुक्रा हुनेगरि फुटेका छन् , कतै कुर्सीको बस्ने बिच भागमा फुटेको पाइएको छ ।
कतै १० देखि १२ वटा कुर्सी एकै ठाउँमा जोडेर राखिएको छ । उपमहानगरपालिकाका प्रबक्ता सबिन न्यौपाने भन्छन् –‘स्थानीयहरुले माल पाएर चाल नपाएका हुन् ।’ प्रबक्ता न्यौपानेका अनुसार एउटा कुर्सीको मूल्य भ्याटसहित ९ हजार रुपैयाँ पर्छ । ‘अझै १८ हजार कुर्सीको माग छ, जहाँ दियो त्यहाँ दुरुपयोग गरिएको छ कसरी पुर्याउने ?’, प्रवक्ता न्यौपानेले चिन्ता व्यक्त गर्दै भने ।
कुर्सीमात्र होइन फुल, बिरुवा रोप्ने ठुला–ठुला गमला, फलामको बार, पोललका फोक्स लाइट बत्ती समेत फुटेको अवस्थामा पाइनु दुःख लाग्दो कुरा हो । ‘यो हाम्रै लागि हो तर उच्छृङ्खलहरुले गर्दा कुनै कुराको पनि संरक्षण हुन मुस्किल छ,’ सिमलटार टोल विकास संस्थाका सदस्य चित्रबहादुर मुक्तानले दुख ब्यक्त गरे । कुर्सी उपमहानगर पालिकाले उपलब्ध गराएकोमा आफुहरु खुशी भएको स्थानीयहरु बताउँछन् । यसको सदुपयोग स्थानीयहरुलेनै गर्नुपर्ने र दुरुपयोग भने कसैलेपनि गर्न नहुने स्थानीयहरु बताउँछन् ।
‘स्थानीय सरकारले केही दिएन भनेर गुनासो मात्र गर्ने, दिएको कुराको संरक्षण नगर्ने संस्कारको विकास जबसम्म हामीमा रहन्छ तबसम्म उच्छृङ्खलहरुको अराजक गतिविधि बढ्ने कुरामा दुर्इमत नभएको केही बुद्धिजीवीहरुको भनाइ छ ।