विद्यार्थी एकता दिवसको अवसरमा मनहरीमा शैक्षिक सामग्री वितरण

मकवानपुर। नेकपा निकट अखिल (समाजवादी) मकवानपुरले ६१ औं विद्यार्थी एकता दिवसको अवसरमा मनहरी गाउँपालिका–२ स्थित त्रिरत्न प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रम अन्तर्गत शिशु कक्षादेखि कक्षा ५ सम्मका ३० जना छात्र र २४ जना छात्रालाई कापी, सिसाकलम, इरेजर र सार्पनरजस्ता सामग्री प्रदान गरिएको हो।

कार्यक्रमकै अवसरमा संगठनले विद्यालय अनुगमन अभियानको पनि औपचारिक सुरुआत गरेको छ। अनुगमन अभियानको उद्देश्य शिक्षा क्षेत्रमा विद्यमान विकृति, विसंगति र समस्याको पहिचान गर्दै समाधानतर्फ अग्रसर हुनु रहेको संगठनले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेकपाका केन्द्रिय सदस्य एवम् सामना परिवारका संयोजक आरोह सीले विद्यार्थीहरुलाई अध्ययनमा लाग्न प्रेरित गर्दै, “शिक्षा प्राप्त गरेर समाज परिवर्तनमा जुट्न आवश्यक छ,” भन्ने सन्देश दिएका थिए। त्यस्तै, विशेष अतिथि तथा अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य विवेक सीले शुभकामना दिँदै उज्ज्वल भविष्यका लागि परिश्रम गर्न विद्यार्थीहरुलाई आग्रह गरे।

मनहरी–२ का वडा सदस्य सुकराम मोक्तानले विद्यालयका समस्या समाधानमा स्थानीय सरकारको तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता जनाए। मकवानपुरका इन्चार्ज सुर्य सीले संविधानले सुनिश्चित गरेको निशुल्क र अनिवार्य शिक्षाको अभ्यासमा देखिएको अवरोधको अन्त्य गर्न संगठनले अनुगमन अभियान चलाएको बताए। उनले शिक्षा क्षेत्रमा भइरहेको शैक्षिक व्यापार, बढी शुल्क असुली, कमिसन प्रणाली तथा भ्रष्टाचारविरुद्ध कानुनी कदम चालिने चेतावनी पनि दिए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा नेकपा मनहरी गाउँपालिका इन्चार्ज गुणसिं रुम्बाले संगठनलाई धन्यवाद दिँदै शैक्षिक सत्र सुधारका लागि सहयोग गर्ने बताए। त्रिरत्न प्राविका प्रधानाध्यापक कृष्ण बहादुर घलानले विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे जानकारी दिँदै सामग्री उपलब्ध गराएकोमा आभार व्यक्त गरे।

कार्यक्रममा मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष दिनेश गोङ्बा, अखिल (समाजवादी)का केन्द्रिय सदस्य बिक्रम सी, सञ्चारकर्मी सशान्त तामाङ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता संगठनका जिल्ला अध्यक्ष सुबास सीले गरेका थिए भने सञ्चालन जिल्ला उपाध्यक्ष दिलमाया सीले गरेकी थिइन्। संगठनले विभिन्न पार्टी नेता, विद्यार्थी नेता तथा जिम्मेवार व्यक्तिबाट संकलित करिब १० हजार बराबरको सामग्री वितरण गरेको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.