हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित फरेष्टी क्याम्पसअगाडिको पूर्व–पश्चिम राजमार्गमा प्रहरीले अवैध रूपमा ढुवानी गरिएका गाईगोरु फेला पारेको छ। ट्रकमा बिना कागजात ल्याइएका ८ वटा गाई र ७ वटा गोरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मंगलबार बिहान करिब ५:०० बजे वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १२२० नम्बरको आइचर ट्रकलाई रोकेको थियो। चेकजाँचको क्रममा ट्रक चालक सवारी साधन छोडेर फरार भएका थिए।
ट्रकको जाँच गर्दा भेटनरी प्रमाणपत्र लगायत कुनै कानुनी कागजात बिना पशुहरू ढुवानी गरिएको पाइएको हो। प्रहरीका अनुसार गाडीमा लोड गरिएका गाईगोरु भारततर्फ अवैध रूपमा तस्करी गर्न खोजिएको आशंका गरिएको छ।
फेला परेका ८ गाई र ७ गोरु ट्रकसहित आवश्यक कारबाहीका लागि पशुसेवा केन्द्र कार्यालय हेटौंडामा बुझाइएको छ। हाल फरार रहेका ट्रक चालकको खोजी कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ।