मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ खेलकुद विकास समितिको आयोजनामा प्रथम हेटौंडा १२ वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराइएको हो ।
यही माघ १६ गतेदेखि वडा नम्बर १२ पान्तले हात्तिगौँडास्थित बुद्ध माध्यामिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको आयोजना हुनेछ । समितिका संयोजक दिनेश चौँलागाईले पहिलो पटक नगर स्तरीय खुला वडाध्यक्ष कप भलिबलको आयोजना गर्न लागिएको बताए ।
प्रतियोगितामा विजेताले ५० हजार राशी सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विजेता पुरस्कार राशी तुलसी मेहर मेमोरियल आवासीय माध्यामिक विद्यालय तथा नारायणी कलेजले प्रायोजन गरेको छ । वडाबाट १ लाख २५ हजार बजेट विनियोजन गरिएको छ भने बाँकी अन्य लाग्ने खर्चहरु स्थानीय समाजसेवीहरुबाट प्राप्त गरिने प्रतियोगिता संयोजनक मनोज स्याङ्तानले बताए ।
प्रतियोगितामा करिब तीन लाख खर्च हुने अनुमान रहेको बताउँदै स्याङ्ताने भने हाहीले विधागत रुपमा पनि विभिन्न खेलाडीहरुलाई पुरस्कृत गर्दछौं ।
प्रतियोगितामा करिब १३ टिमको सहभागिता हुने अनुमान आयोजकको रहेको छ । नगर स्तरीय भए पनि टिममा वडा भन्दा बाहिरका बढीमा ३ जना खेलाडीलाई समावेश गराउन सकिने स्याङ्तानले बताए ।
पत्रकार सम्मेलनमा तुलसी मेहर मेमोरियल आवासीय माध्यामिक विद्यालयका अध्यक्ष आशिष श्रेष्ठ, प्राचार्य रघुनाथ खराल लगायतको पनि सहभागिता रहेको थियो ।
























