हेटौंडा / हेटौंडामा युवाहरुमा हुने असमानताबारे सरोकारवालाहरुसँग छलफल भएको छ । गैरसरकारी महासङ्घको आयोजना र अक्सफामको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै गैसस महासङ्घकी महासचिव देवी खड्काले धर्म, जात, वर्ग, लिङ्ग, भूगोलका आधारमा असमानता बढेकोले युवाहरु स्वदेशमा काम गर्न बस्नुभन्दा पनि विदेशलाई रोजगारको गन्तव्य बनाउन थालेको भन्दै चिन्ता व्यक्त गरिन् ।
यस्तै उपमहासचिव किरण थापाले नागरिक आवाजलाई बुलन्द बनाउन आवश्यक रहेको बताए । नेपालमा केही भएन भन्नुभन्दा धेरै कुरा भएको छ, तर त्यो पर्याप्त मात्रामा नभएकोले नागरिकहरुले संघर्ष गर्नुपर्ने कुरामा जोड दिए ।

यस्तै काठमाडौं विश्वविद्यालयकी असिस्टेन्ट प्रोफेसर डाक्टर रुपा मुनाकर्मीले विश्वमा धनीहरु बढेको र उनीहरुले पैसालाई कब्जामा राखेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा पनि पहुँच भएका व्यक्तिहरुको दबदबा भएको बताइन् । उनले भनिन्, “भन्नलाई सबैलाई समान हक, अधिकार भनिएको छ, त्यो संविधानका दफा र धारामा मात्र सीमित छ । सबै कुरामा असमानता, विभेद, हिंसा बढेको बढेकै छ । कहिले जातिको नाममा, कहिले भूगोलको फरकपनले, कहिले धर्मको आडमा, महिला भएकै कारणले, दलित, अशिक्षित, गरिब, चेतना कम भएका मानिसहरुले धेरै असमानता भोगेका छन् । यो रोक्नु हामी सबै नागरिक समाजको कर्तव्य हो,” डाक्टर रुपा मुनाकर्मीको भनाइ छ ।
कार्यक्रममा बोल्ने क्रममा गैसस महासङ्घ बागमती प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्माले बसाइँ सर्ने र विदेशिने युवाहरुलाई रोक्न नसक्नु हाम्रा कमजोरी भइरहेको बताए । उनले अवसरमा समानता हुनुपर्ने कुरामा जोड दिए ।

यसैगरी कार्यशालामा सहभागी गापा सदस्या, विभिन्न संघसंस्था, शिक्षक, अपाङ्ग महासङ्घ लगायत संघसंस्थाका प्रतिनिधिहरुले असमानता हट्नुपर्ने कुरामा जोड दिएका थिए । यस्तै युवा सहभागितालाई हरेक क्षेत्रमा बढाउनुपर्ने धारणा पनि सहभागीबाट उठेको थियो ।
कार्यक्रममा उठेका सवाललाई विश्वव्यापी सवाल बनाउने उद्देश्यले कार्यक्रम गरिएको गैसस बागमती प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्माले बताए । कार्यक्रममा गैसस केन्द्रीय सचिव बुद्धशरण लामा, बागमती प्रदेश पूर्व अध्यक्ष आरती पाठक, प्रदेश सचिव नरेश श्रेष्ठ, प्रदेश सदस्य आरसी न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।



































































