हेटौँडा । जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै एक युवतीले बहिरा तथा सुस्त श्रवण भएका बालबालिकाको पठनपाठन र मनोरञ्जनका लागि टेलिभिजन सहयोग गर्नुभएको छ ।
हेटौँडा–६ मा रहेको आवासीय विद्यालयमा अध्ययनरत बहिरा विद्यार्थीहरूको शैक्षिक सामग्री अवलोकन, संकेत भाषामा आधारित कार्यक्रम तथा जानकारीमूलक भिडियो हेर्न सहज होस् भन्ने उद्देश्यले ३२ इन्चको स्मार्ट टेलिभिजन उपलब्ध गराइएको हो ।
विद्यालयका अनुसार टेलिभिजन हस्तान्तरण कार्यक्रममा बाल क्लबका प्रतिनिधि तथा विद्यालय प्रशासनको उपस्थिति रहेको थियो । सहयोग सामग्री अभिभावकमार्फत विद्यालयलाई प्रदान गरिएको जनाइएको छ ।
आवासीय रूपमा बस्दै आएका विद्यार्थीहरूका लागि यस्तो प्रविधियुक्त सामग्रीले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास विद्यालयले व्यक्त गरेको छ । साथै, कार्यक्रममा उपस्थित स्थानीय व्यवसायीले विद्यालयलाई आवश्यक पर्ने ब्यानर, बिल तथा अन्य छपाइसम्बन्धी सामग्रीहरू निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।
उक्त आवासीय विद्यालयमा मकवानपुरसहित विभिन्न जिल्लाबाट आएका करिब ४० जना बहिरा तथा सुस्त श्रवण भएका विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।



































































