रूपान्तरणको चरणमा देश, दशैंले स्थिरता र समृद्धि ल्याओस् : प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बडादशैँ २०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश जारी गर्दै सबैमा शान्ति, सहकार्य र समृद्धिको कामना गरेका छन्।

सन्देशमा उनले दशैंलाई केवल पर्व मात्र नभई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र अन्धकारमाथि प्रकाशको उदयको प्रेरणादायी शक्ति भएको उल्लेख गरेका छन्। “दशैं शक्तिको जागरण र आत्मबलको प्रतीक हो, जसले दृढ निश्चय, धैर्य र न्यायको रक्षा गर्ने अटल भाव जगाउँछ,” उनले भनेका छन्।

फूलपातीदेखि विजयादशमीसम्मको यात्रा नेपाली समाजलाई आस्था, संस्कार र एकताको धरोहरमा बाँध्ने कार्य गरेको बताउँदै उनले यस पर्वले सत्य, धर्म र न्यायको विजयलाई उजागर गर्दै समाजमा शान्ति र सहअस्तित्वको ज्योति फैलाउने विश्वास व्यक्त गरेका छन्।

हालैका आन्दोलन, जनधनको क्षति र देशको रुपान्तरण प्रक्रियाले आम नागरिकमा उल्लास घटाएको उल्लेख गर्दै उनले दशैंको मुखमा यात्रुहरूले ठूलो सास्ती व्यहोर्नु परेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। यद्यपि यो पर्वले शान्ति, स्थिरता र समृद्धिको ढोका खोल्ने आशा दिलाउने विश्वास उनले व्यक्त गरेका छन्।

“यस महान् पर्वले नागरिकबीच आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वलाई अझ सुदृढ बनाओस्, हरेक घर–घरमा सुख, शान्ति र समृद्धिको आशीर्वाद पुग्दै हाम्रो समाजलाई सभ्य, प्रगतिशील र समृद्धिको दिशातर्फ अघि बढाउन सघाओस् भन्ने मेरो हार्दिक शुभेच्छा रहेको छ,” उनले भनेका छन्।

साथै, उनले पर्वमा तडकभडक र फजुल खर्च नगरी गच्छेअनुसार मनाउन पनि आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.