हेटौंडा । हेटौंडामा आजदेखि सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटबोर्ड प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडीहरूको प्रतिस्पर्धालाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ।
नेपाल स्पोर्ट सेन्टर (नेकोस)को आयोजनामा प्रतियोगिताहरू असार ७ देखि ११ गतेसम्म सञ्चालन हुने छन्। महिला भलिबल प्रतियोगिता शनिबार दिउँसो ३ बजे हुप्रचौरस्थित भलिबल ट्रेनिङ सेन्टरमा उद्घाटन भएको हो भने स्केटबोर्ड प्रतियोगिता असार ८ गते आइतबार बिहान ७ बजेबाट हेटौंडा–५ स्थित पुष्पलाल रोडको स्केटिङ पार्कमा सुरु हुने नेकोसका सदस्य सफल अधिकारीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
महिला भलिबल प्रतियोगितामा देशभरबाट छ वटा टिमको सहभागिता रहने छ । जसमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशले सहभागिता जनाउने छन् । स्केटबोर्ड प्रतियोगितामा १२ वर्षमुनिका महिला तथा पुरुष र १२ वर्षमाथिका महिला तथा पुरुष गरी चार विधामा १ सय ५० जना खेलाडीको सहभागिता रहने छ ।
महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार राशि ५ लाख, द्वितीय पुरस्कार ३ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना हुनेलाई ५१ हजार पुरस्कार प्रदान गरिने भएको छ । प्रत्येक खेल विधामा नगद ५ हजार छुट्टाइएको छ । स्केटबोर्ड प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार पुरस्कार प्रदान गरिने भएको छ । दुवै प्रतियोगिता सञ्चालनका लागि ८० लाख खर्च हुने आयोजकले जनाएको छ ।






























