हेटौँडा । हेटौंडाको मनहरी गाउँपालिकामा पर्ने हाँडिखोलाको ट्वाङ्ग्राखोला मुसिधापमा बसोबास गर्दै आएका संरक्षित जाति बनकरियाहरुलाई बसोबासको चिन्ताले सताउन थालेको छ । नेपाल सरकारले मुसिधापमा कबुलियत बनको रुपमा २० वर्षको लागि बसोबास गर्न दिएको कागजको सम्झौता विक्रम सम्वत २०८२ साल बैशाखदेखि सकिँदैछ ।

लोपोन्मुख जाति बनकरियाको मकवानपुर जिल्लाको मनहरी गाउँपालिका स्थित ट्वाङ्ग्राखोला मुसिधापमा २५ घरधुरी छ । मकवानपुर जिल्ला बाहेक नेपालको अरु कुनै पनि जिल्लामा यो जातिको बसोबास नरहेको जानकारहरु दाबी गर्छन् । बनमै बस्ने, बनको कन्दमुल खाएर बाँच्ने बनकरियालाई नेपाल सरकारले संरक्षण गर्नुपर्ने लोपोन्मुख जातिको सुचिमा राखेको छ । शहर वरपरका ऐलानी जग्गाहरुमा हुनेखानेले कब्जा जमाएको र गैर नेपालीले समेत बसोबास गर्दै आएको देखिन्छ तर आफ्नै देशको नागरिक, आदिवासी जनजाति बोटे, चेपाङ, बनकरिया, राउटे जस्ता लोपोन्मुख जातिहरु बासको खोजिमा भौतारिनुपरेको तितो यथार्थ छ, जानकारहरु तिक्तता पोख्छन् ।

अगुवा बनकरिया सन्तोषी भन्छिन्–‘हामीले जोतकमोद गर्दै आएको जग्गामा पनि हाम्रो स्वामित्व छैन, बनमा आरक्षणले रोक्ने, सरकारले बासको ब्यवस्था नगर्ने हामी कहाँ जाने ?’ कुमार बनकरिया र बिमला बनकरिया सरकारले बासको ब्यवस्था गरिदिनुपर्ने माग गर्छन् ।

‘बनकरियाको बासको लागि संबंधित निकायमा छिटोभन्दा छिटो पहल गर्छु’–संघिय सांसद महेश बर्तौला

मकवानपुर जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित संघिय सांसद महेश बर्तौलाले बनकरियाले बसोबास गर्न पाउनु उनीहरुको मौलिक हक भएको बताएका छन् । ‘नेपाल सरकारले उनीहरुको बासको ब्यवस्था गर्नुपर्छ’ बर्तौलाले भने । हेटौंडा ११ को सामुदायिक वन समुहले आयोजना गरेको चियापान कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी जनाउन हेटौंडा आउँदा उनले यस्तो कुरा बताएका हुन् ।

‘राज्यले भुमिहिनहरुलार्इ भुमि र लालपुर्जा दिने तयारी गरेको छ, सरकार जसको भएतापनि यो काम गर्नेकुरा संविधानमा उल्लेख गरिएको छ’, नेकपा एमाले पार्टीका प्रमुख सचेतक समेत रहेका संघिय सांसद बर्तौला बताउँछन् । आफुले बनकरिया बस्ती स्थलगत भ्रमण गर्ने र सम्बन्धित निकायमा छिटोभन्दा छिटो जानकारी गराएर बनकरिया जातिको बसोबासको ब्यवस्थापन गर्न पहल गर्ने उनले आश्वासन दिए ।




































































