मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन्।
बुधबार जारी सन्देशमा उनले देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिँदै, स्वतन्त्रता र राष्ट्रहितका लागि बलिदान दिने वीर सहिदहरूको उच्च सम्मानका साथ स्मरण गरेका छन्।
उनले २००७ साल फागुन ७ लाई नेपालको इतिहासमा महत्त्वपूर्ण दिनको रूपमा उल्लेख गर्दै भने, “यस दिन नेपाली जनताले निरंकुश जहाँनिया राणा शासनको अन्त्य गर्दै नयाँ युगको सुरुआत गरेका थिए।”
प्रदेश प्रमुख देवकोटाले सबै राजनीतिक दलहरूलाई पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणको अभियानमा होमिन आग्रह गरेका छन्। उनले भने, “हामीले एकताका बलमा राजनैतिक फड्को मारेका छौं। अब फेरि जुटेर मुलुकमा आर्थिक समृद्धि भित्र्याउनु छ।”
विश्वका तीव्र परिवर्तनहरूसँग समायोजन गर्दै अघि बढ्नु नै देशका लागि उत्तम विकल्प रहेको उनको धारणा छ। उनले समतामूलक समाज निर्माण र समुन्नत राष्ट्रको परिकल्पना साकार पार्न सबैलाई उर्जा र प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।



































































