हेटौँडामा वरिष्ठ गीतकार एवम् अभिनेता नीर शाहलाई अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार

मकवानपुर । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट वरिष्ठ गीतकार एवम् अभिनेता नीर शाह पुरस्कृत भएका छन् । एक लाख रुपैयाँ राशी सहितको ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१’ बाट शाहलाई पुरस्कृत गरिएको हो ।

मङ्गलबार हेटौँडामा आयोजित पुरस्कार समर्पण तथा साङ्गीतिक समारोहमा प्रमुख अतिथि साहित्यकार नगेन्द्र थापा तथा पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठले शाहलाई पुरस्कार समर्पण गरेका हुन् ।

समारोहमा बोल्दै गीतकार नीर शाहले आफूले कहिल्यै पनि गीतकारका रुपमा चिनिनका लागि गीत नलेखेको बताए । कवि हृदयले गीत लेख्ने सन्दर्भमा शाहले भने, ‘जब कविले केही लेख्छ त्यो कविता हुन्छ तर जब कविताले कविता लेख्छ, त्यो गीत बन्छ ।’ प्रमुख अतिथि नगेन्द्र थापाले नीर शाहका गीत हल्का शब्दहरू बुनेर दुईदिनका नलेखिएको बताए । मानवीय संवेदनाको गहिराईमा पुगेर लेखिने भएकाले नै थोरै गीत लेखेर पनि शाहका गीतहरू स्रोताको रोजाइमा परेको उनको भनाइ थियो ।

कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले नीर शाहको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । सो अवसरमा कलाकारहरू वृष्मा गहतराज, पूर्णविक्रम अधिकारी, दिपेश श्रेष्ठ, रमेशराज गहतराज, बाबु क्षेत्री, सुनिता शर्मा लुइँटेल, अन्जन दाहाल, मथुरा प्रधान लगायतले गीत प्रस्तुत गरेका थिए ।

वि. सं. २०६४ सालदेखि प्रदान गरिँदै आएको पुरस्कार प्राप्त गर्ने शाह सोह्रौँ स्रष्टा हुन् । स्वदेश तथा विदेशमा रहेर नेपाली गीतसङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने स्रष्टालाई प्रदान गरिने पुरस्कारबाट हालसम्म अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभन्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जङ्गम, डा. किरण प्रधान र राजेन्द्र थापा पुरस्कृत भइसकेका छन् ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.