हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राप्ती नदी मा सवारीसाधन धुनेको सङ्ख्या बढ्न थालेको छ।
हेटौंडा उपमहानगरपालिकाले खोलामा गाडी धुन मनाही रहेको जानकारीसहित सानो बोर्ड राखेको भए पनि उक्त बोर्ड बेद विद्यालय जाने बाटोछेउ, पुलमुनि कम देखिने स्थानमा राखिएको छ।
उक्त नदी जङ्गली जनावरहरूले पानी पिउने प्रमुख स्रोत हो। जलचरहरूको बासस्थानसमेत यही नदी तथा खोला हो। स्थानीय बासिन्दा नुहाउने, लुगा धुने कार्य पनि यहीँ गर्छन् भने पर्यटकहरू समेत यही खोलाको पानी प्रयोग गरी खाना पकाउने गर्दछन्। सौराहा क्षेत्रमा रहेका वन्यजनावरहरूले समेत यही पानी प्रयोग गर्ने गरेका छन्।

सिमलटार, गोल्फिङटार, थानाभर्याङ र सागरपथ क्षेत्रका बासिन्दाहरूको पिउने पानीको स्रोतसमेत यही खोला हो। गाडीबाट निस्कने केमिकलयुक्त फोहोर पानीले पानीको मुहान दुषित बनाउने खतरा बढेको छ।
नगर क्षेत्रमा सवारीसाधन धुने वासिङ सेन्टरहरू उपलब्ध हुँदाहुँदै पनि केही व्यक्ति नियम मिच्दै खोलामै गाडी धुने कार्यमा संलग्न देखिन्छन्।
यस्ता गतिविधिले वातावरण, पर्यावरण तथा जलचर जीवजन्तुमा गम्भीर असर पार्ने देखिन्छ। पिउने पानीको स्रोत संरक्षण गर्न र वातावरणीय क्षति रोक्न सम्बन्धित निकायले कडाइका साथ अनुगमन गर्नुपर्ने देखिन्छ।



































































