हेटौँडा । मधेसी आयोगकी केन्द्रीय सदस्य आभा कुमारीले प्रहरी कर्मचारीहरूले पनि आफ्नो परिवारसँग चाडपर्व मनाउनका लागि बिदा पाउनुपर्नेमा जोड दिनुभएको छ। हेटौँडा–११ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा आयोजित प्रहरीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजना र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौँडा–११ को समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले मधेसी आयोगको काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराउनुभएको थियो।

प्रमुख अतिथिको रूपमा बोल्दै सदस्य कुमारीले भन्नुभयो, “प्रहरीको ड्युटी सदाबहार हुन्छ, तर भौगोलिक क्षेत्र वा जातजातिको आधारमा ड्युटीको तालमेल मिलाउन सके प्रहरीले पनि आफ्नो परिवारसँग खुसी साटेर चाडपर्व मनाउन पाउने थिए।” उहाँले प्रहरीहरूको विशेष बिदाका लागि नेपाल सरकारसँग पहल गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने आश्वासन दिनुभयो। “म पहल गर्छु, तर बिदाको व्यावहारिक व्यवस्थापन गर्ने काम नेपाल सरकारको हो,” उहाँले भन्नुभयो।
मधेसी आयोगले मधेसी समुदायका अतिरिक्त महिला, दलित र बालबालिकाको अधिकारका क्षेत्रमा समेत वकालत गर्दै आएको जानकारी दिइएको छ।





























