राक्सिराङ गाउँपालिकाको ६३ करोडको बजेट सार्वजनिक, गाँजा खेतीबारे बहस गर्ने घोषणा

हेटौंडा। राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार २८९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न गाउँसभा बैठकमार्फत यो बजेट प्रस्तुत गरिएको हो। अघिल्लो वर्षको तुलनामा यो बजेट ८ करोड ९० लाख ५८ हजार रुपैयाँले बढी हो।

गाउँपालिकाको उपाध्यक्ष बनस्तम थिङले प्रस्तुत गरेको बजेटमा ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ चालु खर्चका लागि र १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ।

अनुदान र स्रोत व्यवस्थापन
बजेट कार्यान्वयनका लागि आवश्यक रकम संघीय सरकारबाट ४३ करोड ८९ लाख ७८ हजार, प्रदेश सरकारबाट १० करोड ५८ लाख २२ हजार, तथा आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ उठाइने उल्लेख गरिएको छ।

यो बजेटमा चालु खर्चमा वृद्धि र पूँजीगत खर्चमा कटौती भएको छ भने संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानमा वृद्धि देखिएको छ।

गाँजा खेतीबारे बहसको तयारी
राक्सिराङ गाउँपालिकाले गाँजा खेतीको बहस सुरू गर्ने नीति लिएको छ। गाउँपालिकाको नीति अनुसार औषधीय गुणले भरिपूर्ण बनस्पति गाँजाको व्यवस्थित, व्यवसायिक र वैधानिक खेतीका सम्भावनाहरुबारे विज्ञहरुसँग बहस तथा अनुसन्धान कार्यक्रम सञ्चालन गरिनेछ।

गाँजा कपडा, औषधि, तेल, अचार उत्पादनमा उपयोगी भएकाले यसलाई राष्ट्रिय महत्वको विषयको रूपमा प्रदेश र संघीय सरकार समक्ष पहल गरिने बताइएको छ।

युवामुखी कार्यक्रम र घर उपहार योजना
“परिवर्तन हाम्रो लक्ष्य, श्रमसँग युवा, युवासँग उपाध्यक्ष” भन्ने नारासहित गाउँपालिकाले युवाहरुलाई श्रममुखी सामाजिक कार्यमा संलग्न गराउन “उपाध्यक्ष श्रम अभियान” सञ्चालन गर्ने नीति लिएको छ।

त्यस्तै, ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा बसाइँ सर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न अघिल्लो वर्ष सुरू गरिएको “सुन्दर समाज हाम्रो सार, बसाईं सरि आउनेलाई घर उपहार” कार्यक्रमलाई निरन्तरता दिइने र व्यवस्थित बनाइने पनि नीति कार्यक्रममा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.